देशविदेशमा फैलँदै ‘माघी’
१ माघ, काठमाडौं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन् ।
विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । माघीमा विशेषतः ढिक्री, घोंगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ ।