भारतले लगायो प्याजमा ४० % कर
३ भदौ काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक
सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।
कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ । ‘निर्यात करले भारतीय प्याजलाई पाकिस्तान, चीन र इजिप्टको प्याजको तुलनामा महँगो बनाउनेछ, यसले स्वभाविक रुपमा निर्यातमा कमी ल्याउनेछ र स्थानीय बजारमा मूल्य घटाउन मद्दत गर्नेछ । भारतले भनेको छ ।
विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ। हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ। नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ ।
नन्दराज उपाध्याय
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।