काठमाण्डौं/ भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ । आईओसीबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।
भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य एक सय ८२ रुपैयाँ ८१ पैसा पुगेको दाबी गरेको छ । यस्तै डिजलमा अब ३६ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुने निगमले जनाएको छ । निगमको अहिलेसम्मको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको र नयाँ मूल्यअनुसार अब मासिक घाटा १० अर्ब रुपैयाँ पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।