चितवन । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको छ । कतिपय पूरा हुने चरणमा छन् भने कतिपय सुरु भएका छन् ।
भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालका लागि महानगर प्रमुखमा रेनु दाहाल विजयी भएको पनि एक वर्ष पुग्यो । एक वर्षमा भए/गरेका काम, महानगरवासीका अपेक्षा, विकास निर्माणका कामको निरन्तरता जस्ता विषयमा महानगर प्रमुख दाहालसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी :
महानगर प्रमुखका रूपमा पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकालको पनि पहिलो वर्ष पूरा भयो, कस्तो पाउनु भा’छ महानगर ?
समग्र विकास र कामका हिसाबले सन्तुष्ट छु । जो पहिला सुरु गरिएका आयोजना थिए तिनीहरूको निरन्तरता र नयाँ आयोजना ल्याउने काम यो बीचमा भएको छ । प्रतिबद्धता अनुसार नै कामहरू भइरहेका छन् भन्ने लाग्छ, सन्तुष्ट नै छु । चालु वर्षमा भरतपुर विमानस्थलको विस्तारसहितको टर्मिनल भवनको काम अगाडि बढेको छ । जटिल बनेको गौतमबुद्ध क्रिकेट रंगशालाको काम गर्ने बाटो खुलेको छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का लागेको छ । तटबन्धका कामहरू जारी छन् ।
संघीय सहकारी विकास मन्त्रालयबाट स्मार्ट सिटी बनाउन आवश्यक पूर्वाधार अन्तर्गत चालु वर्षमा नै ५० करोड बजेट आएको छ । त्यसबाट नारायणी नदी किनारमा ‘सी बिच’ मोडलमा ब्यूटिफिकेसन सहितको पूर्वाधारको काम जारी छ, देवघाटमा बसपार्क र थप ७ वटा लिंक सडकहरूका लागि सो रकम खर्च हुँदैछ । समग्रमा ठिकै भा’छ ।
स्वास्थ्य, शिक्षाको क्षेत्रमा पछिल्लो वर्ष के के काम भए ?
महानगरपालिकाका २९ वटै वडामा स्वास्थ्य कार्यालय भवनसहित जनशक्तिको उचित विन्यास गरेका छौं, जुन हाम्रो प्रतिबद्धता नै थियो । स–साना स्वास्थ्य समस्या हुँदा अब ठूला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भयो । भरतपुर अस्पताललाई केन्द्रीय संघीय अस्पताल र शिक्षण अस्पतालको रूपमा विकास गर्ने घोषणा भएको छ । सोही अनुसारको पूर्वाधार र जनशक्ति थपमा काम हुँदैछ । यस्तै, भरतपुर–१५ मा ७ बिघा जमिनमा केन्द्रीय शिक्षक अस्पताल बनाउन संघीय सरकारबाट गुरुयोजना बनाउने काम अगाडि बढेको छ । प्रदेशस्तरीय १०० बेडको आयुर्वेद अस्पताल बनाउन ३५ करोड बजेट विनियोजन भएर काम सुरु हुँदैछ ।
शिक्षाको क्षेत्रमा पनि हामीले महत्वपूर्ण उपलब्धि हात पारेका छौं । यो अवधिमा महानगरका ८ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा थप भएका छन् । नयाँ विद्यालय भवनहरू बनाउने, रंगरोगन र फल्स सिलिङ्ग हाल्ने, प्रयोगशाला आइटी ल्याबहरू खोल्ने, विद्यालयहरूलाई बसहरू उपलब्ध गराउने, नर्सको व्यवस्था गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने जस्ता काम एकातिर भएका छन् भने अर्कोतिर, विद्यालयहरूमा पढ्दै कमाउँदै गर्ने नीति अनुसार सीप विकासका लागि ३ वटा विद्यालयमा तीन लाखका दरले रकम उपलब्ध गराउन कार्यविधि नै तयार गरेका छौं । पढ्ने मात्रै नभई व्यावहारिक ज्ञान नै दिलाउने हिसाबले काम थालेका छौं ।
विद्यालयहरूमा प्रधानाध्यापक तथा शिक्षकहरूको दरबन्दी मिलानको ठूलो समस्याको हल भएको छ । ‘एक कक्षा कोठा एक शिक्षक’को नीति अनुरूप नै अगाडि बढेका छौं । अटिजम भएका बालबालिकाका लागि विद्यालय, त्रिविको समन्वयमा आर्किटेक्चर इन्जिनियरिङ्ग कलेज खोलेर फ्याकल्टी थप गर्ने काम अगाडि बढेको छ । केन्द्र सरकारले दिने ४०० रुपैयाँमा महानगरले थप ३ हजार रुपैयाँ थपेर गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । उच्च शिक्षा पढ्ने गरीब तथा विपन्न बालबालिकालाई पढ्नबाट वञ्चित हुन नपरोस् भनेर वार्षिक १० हजार रकम छात्रवृत्तिका रूपमा दिने गरेका छौं । निजी विद्यालयले दिने छात्रवृत्तिमा पनि हामीले ध्यान दिएका छौं ।
सुशासनका दृष्टिले के कति काम हुन सके ?
सुशासनका हिसाबले सुरुवात राम्रै गरेका छौं भन्ने लाग्छ । अनलाइन भुक्तानी, राजस्व पनि अनलाइनबाट लिने, दर्ता चलानीलाई डिजिटलाइज गर्ने, घटना दर्ता अनलाइनबाट गराउने गरी काम थालेका छौं । महानगरका हरेक घरधुरीको अवस्था संकलन गर्ने र कोर्ड नम्बर दिएर अनलाइनमा तथ्यांक राख्ने व्यवस्था गर्दैछौं ।
सानातिना काम गर्न महानगरमा आउनुपर्ने, ढिलासुस्ती हुने जस्ता कामबाट जनतालाई मुक्ति दिलाउन महानगरका विभिन्न ठाउँलाई ७ क्लस्टरमा बाँडेर वडाबाट नै योजना पास हुने, भुक्तानी दिने, एक हजार स्क्वायर फिटभन्दा तलका नक्सा त्यहींबाट स्वीकृत हुने गरी सेवालाई विकेन्द्रीकृत गरेका छौं । विद्युतीय कारोबारमा जोड दिएका छौं । अनुगमनको पाटोलाई कडाइ गरेका छौं ।
चालु वर्षमा नै विद्युतीय बस चलाउने भनेर तपाईंको नीति तथा कार्यक्रममा पनि थियो तर हुन सकेन नि !
हामीले साझा यातायातलाई पत्राचार पनि गरेका छौं । तर, यसमा ठोस रूपमा काम अगाडि बढ्न सकेन । आगामी आर्थिक वर्षमा महानगरपालिका आफैंले बजेट विनियोजन गरेर महानगरमा विद्युतीय नगरबस सञ्चालनमा ल्याउँछौं । निजी क्षेत्रलाई पनि यसमा प्रोत्साहन गर्छौं । एउटा सन्देशका हिसाबले पनि यो आवश्यक छ । विद्युतीय बस सँगसँगै विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरू पनि विद्युत् प्राधिकरणको सहयोगमा तयार गर्छाैं । अहिले केन्द्रीय बसपार्कमा मात्रै छ । अब पोखरा बसपार्क, हुलाकी सडक, भरतपुर चनौली सडक, रिङ्गरोड जस्ता ठाउँमा चार्जिङ्ग स्टेशन बनाउँछौं ।
पूर्वाधारको हिसाबले विकास पनि भयो, जनताले भनेको बाटो, विद्युत्, खानेपानी पनि पुग्यो तर पनि जनताका असन्तुष्टि बेलाबखत पोखिने गरेका छन् नि !
जनता महानगरका कामप्रति सन्तुष्ट छन् जस्तो लाग्छ । जनताले भनेको, खोजेको कुरा पूरा हुँदै गएको छ । विकास जनताले मागे हामीले दियौं । थप कामहरू पनि हुँदैछन् । मप्रति व्यक्तिगत रूपमा जनता आक्रोशित छन् भन्ने लाग्दैन । एउटा जनप्रतिनिधिले योभन्दा बढी के गर्न सक्छ ? कति गर्न सक्छ ? भन्ने पनि हो । समग्र व्यवस्थाप्रतिको असन्तुष्टि होला । नयाँले के के गर्छ भन्ने होला । यो त ७८औं जिल्ला पनि हो । विभिन्न ठाउँका जान्ने–सुन्ने मानिसहरू नै चितवनमा बसाइँ सरेर बसेको पाइन्छ ।
टाठाबाठाहरूको जिल्ला पनि हो । देशको मध्य भाग पनि छ । यहाँका मानिसमा केही आत्मकेन्द्रित सोच पनि छ । चितवनमा आफू नै सबैथोक हो भन्ने जस्तो चरित्र र स्वभाव पनि देख्छु । महत्वाकांक्षा पनि बढी छ । रोजगारी सिर्जना, औद्योगिक उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा केही कमी भएको होला तर अरू कुराको विकास त सबै देख्नुभएकै छ । मलाई अचम्म लाग्छ, के गर्नुपर्ने रहेछ ? योभन्दा बढी जनप्रतिनिधिले के गर्नुपर्ने हो ? म कहिलेकाहीं आश्चर्यमा पर्छु । रात–दिन नभनी जनताको सेवामा लागेकी छु । पारदर्शिता पुगेन भनौं भने सबै कुरा छर्लङ्ग छ । बेरुजु ०.०९ प्रतिशत छ, ७५३ पालिकाहरूमध्येमा भरतपुर सरकारबाट नै उत्कृष्ट बनेको छ । योजना तर्जुमादेखि आर्थिक पाटो कार्यान्वयन गर्ने कुरामा वित्त आयोगले भने अनुसार काम गरेका छौं ।
शहरी पूर्वाधार विकासमा पनि अब्बल भनेर पुरस्कृत नै भएका छौं । उत्कृष्ट मेयरका रूपमा पुरस्कार पाएका छौं । यो त हामीले मागेर दिएको कुरा हैन नि ! भरतपुरका जनताका लागि आफूले मत दिएर जिताएको जनप्रतिनिधि उत्कृष्ट हुँदा खुसी हुनुपर्ने हैन ? महानगरमा भ्रष्टाचार गरेको छैन । आखिर जनताले खोजेको जनप्रतिनिधि कस्तो हो त ? जनताको तहबाट मप्रति ‘रेस्पोन्स’ भने पाएकी छु । जनताकोमा जाँदा सम्मान नै देख्छु । माया नै पाउँछु ।
तपाईंका थप योजना के छन् ?
घोषणापत्रमा भएका धेरै चीजहरू गर्नुपर्नेछ । नारायणीको तटबन्ध पूरा गरेर राप्तीको तटबन्ध गर्नुपर्नेछ । प्रशासनिक भवनलाई पूर्णता दिने काम हुँदैछ । अबको ध्यान भरतपुरको विकासमा सौन्दर्यकरण गर्नेमा हुनेछ । स्मार्ट स्टिट लाइट दोस्रो चरणअन्तर्गत १५० किमी सडकका लागि टेण्डर भएको छ । उज्यालो भरतपुर शहरले मूर्त रूप पाउनेछ । विद्युत्का पोल र तारहरूले कुरुप बनाएको सडक र शहर तारहरू भूमिगत गरेर सफा देखिनेछ । दुई हजार जनालाई रोजगारी दिनका लागि तालिम सञ्चालन गर्न आवदेन माग गरेर तालिम दिने कम्पनी छनोट गर्न मूल्याङ्कनको चरणमा छ । पूर्वाधारहरूको लागि परियोजना बैंकमार्फत स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्ने गरी काम गर्नेछौं ।
औद्योगिक ग्रामहरू बनाउने कामलाई प्राथमिकतामा राखिनेछ । अहिले ९२ प्रतिशत जनतामा रहेको शुद्ध पिउनेपानीको पहुँचलाई शतप्रतिशत जनताको माझमा पुर्याइनेछ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा छन् । र अन्त्यमा सन् २०२४ लाई हामी भरतपुर भ्रमण वर्षको रूपमा मनाउने तयारीमा छौं । दुई लाख भारतसहितका विदेशी पर्यटकलाई भरतपुर ल्याउने छौं । भरतपुरको विकास र समृद्धि, यहाँको पर्यटन, कृषि लगायत क्षेत्रहरू देखाउने छौं ।