khabar bulletin

शन्दिपको केशमा पीडित किशोरीकि आमाको नागरिकताको झिकाउन आदेश

0 49

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको नाबालिग किशोरीमाथि जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार फैसला गर्ने अपेक्षा गरिएको थियो। तर, अदालतले फैसला होइन, थप प्रमाण बुझ्ने आदेश गरेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडित किशोरी गौशाला २६’ की आमाको नागरिकता र त्यससँग सम्बन्धित विवरण झिकाउन आदेश गरेको हो।

लामिछाने पक्षधर वकिलहरूले जाहेरवाला किशोरीको मात्रै नभएर उनकी आमाको पनि दुईवटा जन्ममिति भएकाले कागजातको प्रमाणिकता जाँच गरेरमात्रै फैसला हुनुपर्ने अडान राख्दै आएका थिए। सरकारी अभिलेखहरूमा गौशालाकी आमाको फरक फरक जन्ममिति देखिएकाले कुनचाहिँ सही भन्नेमा इजलासमा प्रश्न खडा भएको थियो । वडा कार्यालयले राखेको आमाको बसाइँसराइको अभिलेखमा जन्ममिति २०५३ फागुन २१ छ भने अन्य कागजातमा उही महिना र गतेसहित २०३५ लेखिएको छ। वडाले दिएको बसाइँसराइको प्रमाणपत्रमा जन्ममिति २०३५ साल नै लेखिएको छ ।

वडाको अभिलेखमा गौशालाको दाजुको जन्ममिति २०५९ कात्तिक ८ र गौशालाको २०६१ असार १८ लेखिएको छ । आमाको उमेर र छोरा तथा छोरीको उमेरमा ६ र ८ वर्षको मात्रै फरक देखिने हुनाले आमाको जन्ममिति २०५३ भूलवश लेखिन गएको प्रस्ट हुँदाहुँदै अदालतले अप्रसांगिक कागजात मागेको भन्दै जानकारहरूले यसको आलोचना गरेका छन्। बाबुआमाको उमेरका कुनै प्रमाण लाग्दैन र हुदैन पनि फौजदारी न्याय प्रणालीकी जानकार आस्था दाहाल भन्छिन्, ‘सरकारी कागजातमा फरक विवरण भेटिएर सम्बन्धित व्यक्तिकै जन्ममितिको विवाद उठे त्यसलाई प्रमाणित गर्ने वैज्ञानिक आधार छन्। तर बाबुआमाको जन्ममिति प्रमाणित गर्न खोजे अदालतको कामले न्यायमा अनावश्यक ढिलासुस्ती तथा सरकारी स्रोत, समय र संयन्त्रको फजुल खर्च गराउँछ।’ फैसलाको सबै अंग पुगिसकेको मुद्दामा अप्रासांगिक प्रमाण झिकाउने अदालतको आदेशले न्यायमा ढिलाइ गरेको उनको भनाइ छ। फौजदारी न्यायको विधिशास्त्रले कतै पनि नाबालिका बलात्कृत मुद्दामा घरपरिवारका सदस्यको उमेर सोधखोज गर्ने मनसाय नराखेको भन्दै दाहालले अदालतको आदेशले आफू छक्क परेको बताइन् ।

वडाको अभिलेखमा बाहेक गौशालाकी आमाको उमेर अन्य कागजातमा २०३५ साल छ। पीडित पक्षका अनुसार पछिल्ला दुई अंक ३५ को  अन्जानवश ५३ हुन गएको हो। यसरी सानो भूललाई मूल प्रमाणजस्तो मानेर अदालतले फैसला नै नगर्दा पीडितको मनोबल त्यसै गुमेको उनको आफन्तले प्रतिक्रिया दिएका थिए।

कानुनमा १८ वर्षभन्दा कम उमेरकासँग राजीखुसी नै शारीरिक सम्बन्ध भए पनि त्यो जबर्जस्ती करणी हुने उल्लेख छ । यही प्रावधानलाई टेकेर सन्दीपका कानुन व्यवसायीले पीडितको उमेरमा प्रश्न उठाउँदै आएका थिए। किनभने उनी १८ वर्ष कटिसकेको सन्दीप पक्षधर कानुन व्यवसायीको दाबी छ। जन्मदतदिखि उनको शैक्षिक प्रमाणपत्रसमेतका कागजातका आधारमा गौशाला २६ को उमेर १८ पुगेको हो, होइन भन्नेमा विवाद देखिन्छ ।

२०७५ पुस १८ भएको जन्मदर्तामा पीडित निवेदक २०६१ असार १८ गते जन्मिएको लेखिएको देखिन्छ । २०७९ असार १४ गते बनाइएको प्रतिलिपिमा भने उनको जन्ममिति २०६२ जेठ १८ उल्लेख छ । त्यसैका आधारमा उनले नागरिकता लिएकी थिइन् । त्यसको केहीपछि २०७९ भदौ ५ को राति उनी काठमाडौंको एक होटलमा सन्दीपद्वारा बलात्कृत भएको भनी जिल्ला अदालतमा मुद्दा चलेको छ । पुर्पक्षका लागि थुनामा परेका सन्दीपलाई गत पुस २९ मा सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेको थियो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

 

Leave A Reply

Your email address will not be published.